
काठमाण्डौ । अविरल वर्षा र त्यससँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न भागमा आज पनि छ ठाउँमा राजमार्ग अवरुद्ध रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार सङ्खुवासभा, रसुवा र सिन्धुपाल्चोक जिल्लाका सडकहरू बन्द रहेका छन् ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुण र मकालु गाउँपालिका–३ एकुवामा कोशी राजमार्ग अझै अवरुद्ध छ । एकुवा खण्ड लामो समयदेखि नै बन्द रहेको प्रहरीले जनाएको छ ।
रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण सडक खुलेको छैन, जसका कारण नेपाल–चीन नाका सञ्चालनमा आउन सकेको छैन । त्यस्तै, सोही नगरपालिका–२ तातोपानीमा पहिरो खसेर पासाङल्हामु सडकखण्ड बन्द भएको छ ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ एककिलो र भोटेकोशी गाउँपालिका–२ बाह्रकिलोमा पहिरो खसेपछि अरनिको राजमार्ग दुुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
तर नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा अवरुद्ध सडक भने आज बिहानदेखि खुलाइएको प्रहरीले जनाएको छ ।