
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा उत्पन्न राजनीतिक जटिलताको समाधान संविधानकै दायरामा खोज्नुपर्ने बताएका छन् ।
वडादशैँका अवसरमा जारी शुभकामना सन्देशमार्फत देउवाले संविधानलाई मुलुकको सर्वोच्च कानुन भएको भन्दै राजनीतिक निकास त्यसैबाटै सुनिश्चित हुने उल्लेख गरेका छन् । उनका अनुसार सात दशकभन्दा लामो संघर्ष, बलिदान र जनआकांक्षाबाट बनेको ऐतिहासिक संविधानमार्फत नै स्थिरता, प्रगति र समाधान सम्भव छ ।
देउवाले समृद्धिसँगै शान्ति र एकताको यात्रामा सबै नेपालीले योगदान गर्नुपर्नेमा जोड दिएका छन् । भदौ २४ गतेको प्रदर्शनमा संलग्न हिंसात्मक गतिविधिलाई उनले आपराधिक समूहको गतिविधि भन्दै कडा आलोचना गरेका छन् । राष्ट्रपति भवन, सिंहदरबार, संसद्, सर्वोच्च अदालत र राजनीतिक दलका कार्यालयमा भएको तोडफोडबाट खरबौँको क्षति पुगेको उल्लेख गर्दै उनले यसलाई इतिहासकै अकल्पनीय र दुःखद घटना भनेका छन् ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।