
काठमाण्डौ । अर्थ मन्त्रालयले स्रोत नखुलेको नगद रकमबारे अनुसन्धान भइरहेको भन्दै स्पष्ट चेतावनी दिएको छ । आइतबार मन्त्रालयले सार्वजनिक गरेको सूचनामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार यस्ता रकमको अनुसन्धान भइरहेको जनाइएको हो ।
हालैको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा केही घरमा ठूलो परिमाणमा नगद भेटिएको वा जलेको घटनाप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले प्रचलित कानुनबमोजिम आय आर्जन भई स्रोत प्रस्ट भएको रकम भने जुनसुकै परिमाणमा राख्न वा प्रयोग गर्न कुनै प्रतिबन्ध नभएको स्पष्ट पारेको छ ।
नागरिकलाई नगदको सट्टा विद्युतीय भुक्तानी प्रणाली प्रयोग गर्न आग्रह गर्दै मन्त्रालयले ठूला रकम नगदमा राख्दा जोखिम बढ्ने भएकाले इलेक्ट्रोनिक कारोबार सुरक्षित विकल्प हुने उल्लेख गरेको छ ।
विद्यमान कानुनअनुसार एक पटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको खरिदबिक्री वा कारोबार बैङ्किङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराइएको छ । त्यस्तै, नेपाल भित्रिने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर पाँच हजार (वा सो बराबरको अन्य विदेशी मुद्रा) सम्म भन्सार घोषणाबिनै ल्याउन सक्ने र सोभन्दा बढी रकम घोषणा गरी प्रमाणित गर्नुपर्ने व्यवस्था छ ।
यस्तै, नेपाली नागरिकले वैध रूपमा आर्जन गरेको अधिकतम १५ सय अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा मात्र नगदमा राख्न सक्ने व्यवस्था छ । यसबाहेक स्रोत नखुलेको नगद भेटिएमा प्रचलित कानुनअनुसार अनुसन्धान तथा कारबाही हुने मन्त्रालयले स्पष्ट पारेको छ ।