Banner Nepal
अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना, दुईको मृत्यु र २४ घाइते

काठमाण्डौ । अर्घाखाँचीमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

बुटवलबाट गुल्मीको पुर्कोटतर्फ गइरहेको लु १ ज ४७२४ नम्बरको गाडी सन्धिखर्क नगरपालिका–९ टारीमा सोमवार बिहान दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मृतकमध्ये गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटकी १० वर्षीया अरुणा थापा र सोही गाउँपालिकाको–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका छन् ।

गाडी अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी गुल्मी मदाने गाउँपालिका–६ की ३२ वर्षीया तारा सेन के.सीलाई ढाड र टाउकोमा चोट लागेकाले बुटवल रिफर गरिएको छ । अन्य २० जनाको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख दिवस जिसीले बताए ।

सवारी चालकसहित २६ जना गाडीमा सवार रहेको र तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । दुर्घटनाग्रस्त गाडीमा ८ जना बालबालिका पनि रहेको खुलेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update