Banner Nepal
सार्कलाई ब्युताउँनु पर्ने बंगलादेशको धारणा

काठमाडौं । दक्षिण एशियामा देखिएको जटिल भूराजनीतिक अस्थिरताकाबिच बंगलादेश सरकारका अन्तरिम प्रमुख सल्लाहकार मुहम्मद युनुसले सार्कको महत्वको बारेमा बताउँदै यसलाई पुनरुत्थानको लागि आह्वान गर्नुभएको  छ ।

उहाँले आपसी सम्मान, पारदर्शिता र साझा समृद्धिमा आधारित क्षेत्रीय सहयोगमा आधारित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा जोड दिनुभएको हो ।

संयुक्त राष्ट्रसंघ महासभाको ८० औं सेसनको महासभामा सम्बोधन गर्दै युनुसले साझा विकास बाहेक छिमेकीहरूबीच क्षेत्रीय सहयोगको विकल्प नभएको पनि स्पष्ट पार्नुभएको छ ।

सार्कले आफ्नो प्रारम्भिक वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको र क्षेत्रीय सहयोगको लागि बलियो आधार तयार गरेको उहाँको भनाइ थियो । प्रमुख सल्लाहकार युनुसले राजनीतिक गतिरोध भए पनि सार्कको संस्थागत संरचना अक्षुण्ण रहेको बताउनुभएको छ ।

सार्कमा नेपालसहित भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंका छन् । सन् २०१४ मा काठमाडौंमा भएको अन्तिम शिखर सम्मेलनपछि सार्कको दुई वर्षे शिखर सम्मेलन हुन सकेको छैन । 

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update