तलब रोक्ने प्रधानाध्यापक कारबाहीमा पर्ने : शिक्षामन्त्री पुन

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकलाई भोलिसम्म तलब उपलब्ध नगराउने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
दसैँ–तिहार नजिकिँदै गर्दा शिक्षकहरूले तलब नपाएको गुनासो बढेपछि मन्त्री पुनले तत्काल निकासा गर्न निर्देशन दिएका हुन्। सामाजिक सञ्जालमार्फत उनले शिक्षा मन्त्रालयबाट तलब रकम विद्यालयहरूमा पठाइसकेको स्पष्ट पार्दै, भोलिसम्म शिक्षकलाई भुक्तानी नगरे सम्बन्धित प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिने बताए।
उनले फेसबुकमा लेखेका छन्– “शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइसकेको छ। भोलिसम्म अन्यायपूर्ण ढङ्गले शिक्षकको तलब निकासा नगरेमा सम्बन्धित प्रधानाध्यापकलाई कानुनी कारबाही गरिने छ।”
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२ १४:३०
प्रतिक्रिया दिनुहोस्