
काठमाडौँ — दुई साताअघि भएको जेन–जी आन्दोलनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको तथ्यांक आफैंकै प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ । दुई दिनभित्र देशभर १३ हजार १ सय ८२ पटक फायरिङ भएको विवरण प्रहरीले तयार गरेको छ ।
यस अवधिमा २ हजार ६ सय ४२ ‘लाइभ बुलेट’, १ हजार ८ सय ८४ रबर गोली, २ हजार ३ सय ७७ हवाई फायर र ६ हजार २ सय ७९ सेल अश्रुग्यास प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी ६ हजार ८९१ फायरिङ काठमाडौं उपत्यकामा भएको थियो ।
प्रहरीको गोली प्रहारका कारण दुई दिनमै ७५ जनाले ज्यान गुमाएका थिए । मृतकमध्ये धेरैजसोको पोस्टमार्टम प्रतिवेदनमा ‘हाई भेलोसिटी आर्म्स’ बाट टाउको तथा कम्मरमाथि गोली लागेको देखिएको छ ।
पूर्वसदस्य मोहना अन्सारीसहितका मानवअधिकारकर्मीहरूले प्रदर्शनकारीलाई टाउकामै लक्षित गरी गोली चलाउनु अन्तर्राष्ट्रिय मान्यताविपरीत रहेको भन्दै गम्भीर अपराध भएको टिप्पणी गरेका छन् । कानुन विज्ञहरू समेत यसलाई गैरव्यावसायिक र असंवैधानिक गतिविधि ठहर गर्दै निष्पक्ष छानबिन आवश्यक रहेको बताउँछन् ।
गृह मन्त्रालयले प्रारम्भिक विवरण अझै थपिन सक्ने जनाएको छ भने प्रहरी प्रधान कार्यालयले डीआईजी दीपक रेग्मीको नेतृत्वमा घटनाबारे छानबिन समिति गठन गरेको छ ।
तर सुरक्षासम्बन्धी पूर्वसूचना संकलनमा कमजोरी, रणनीतिक त्रुटि र तयारीको कमीका कारण स्थिति नियन्त्रणबाहिर गएको प्रहरी अधिकारीहरूकै समीक्षा छ । राजनीतिक नेतृत्वले न्यून प्रहरी परिचालन गर्ने नीति अपनाउँदा परिस्थितिमा नियन्त्रण गुमिएको बताइन्छ ।