
काठमाण्डौ । मधेस प्रदेश प्रहरी कार्यालयले दशैं, तिहार, छठलगायतका चाडपर्वलाई भयरहित बनाउन विशेष सुरक्षा योजना लागू गरेको छ । जनकपुरस्थित कार्यालयले ८ वटै जिल्लामा करिब ६ हजार ५३२ प्रहरी खटाउने तयारी गरेको हो ।
प्रदेश प्रहरीका प्रवक्ता तथा एसएसपी कमल थापाका अनुसार असोज ६ गतेदेखि छठ पर्वसम्म यो योजना कार्यान्वयनमा रहनेछ । चाडपर्वको समयमा आपराधिक गतिविधि रोक्न, सडक सुरक्षा कायम गर्न र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन यो योजना बनाइएको उनले बताए ।
यसअन्तर्गत ४८ क्यूआरटी टोली, १९ स्ट्राइकिङ फोर्स, ११६ स्थानमा ट्राफिक चेकिङ, १२६ मोबाइल गस्ती, २१२ पैदल गस्ती, ३२५ पिकेट गस्ती र २६ राजमार्ग स्कर्टिङ गरिने भएको छ । त्यस्तै, बैंक, वित्तीय संस्था, बजार, धार्मिक तथा पर्यटकीय स्थलहरूको सुरक्षाका लागि छुट्टै टोली परिचालन गरिएको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले पर्वलाई सुरक्षित बनाउन विशेष निगरानीका साथै मूल्यवृद्धि, कृत्रिम अभाव, ठगी, अवैध मदिरा उत्पादन–वितरण र पटका–आतिशबाजीमा पूर्ण नियन्त्रण गरिने बताए । उनले सीमाका संवेदनशील स्थानमा पनि विशेष प्रहरी टोली खटाइएको उल्लेख गर्दै, “ढुक्कले पर्व मनाउन सक्ने वातावरण बनाउन कुनै कसर बाँकी राखिँदैन,” भन्नुभयो ।
जेनजी आन्दोलनपछिको जोखिमयुक्त अवस्थालाई ध्यानमा राख्दै यो सुरक्षा योजना थप मजबुत बनाइएको प्रहरीले जनाएको छ ।