Banner Nepal
माओवादी केन्द्रको बैठक आजै सक्ने तयारी

काठमाण्डौ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक आजै सक्ने तयारी गरिएको छ । प्रदेश समितिहरूबाट आएका १० वटा प्रतिवेदनको निष्कर्षसहित बैठक समापन गर्ने तयारी भएको हो । बैठक कमलादीस्थित प्रज्ञा भवनमा हिजोदेखि सुरु भएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका छन् । अध्यक्ष दाहालले मंसिर अन्तिम सातातिर महाधिवेशन गर्ने, केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति गठन गर्ने र त्यसको संयोजक आफैं रहने प्रस्ताव पेश गर्नुभएको छ ।

तर, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने धारणा राख्नुभएको छ । यस्तै, उपमहासचिव शर्माले अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिई जिम्मेवारी स्थायी कमिटीलाई दिनुपर्ने प्रस्ताव पेस गर्नुभएको छ ।

आज बिहान ११ बजे बस्ने बैठकमा यी तीन प्रस्तावमाथि छलफल गरी पार्टीको धारणा तय गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update