
काठमाण्डौ । बडादशैं अर्थात् नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन देवी स्कन्दमाताको विशेष आराधना गर्ने परम्परा छ ।
यसअघि असोज ६ गते घटस्थापना गरी दशैंघरमा जौंको जमरा राखिएको थियो । नवरात्रमा प्रत्येक दिन भिन्न देवीको पूजा गरिने परम्परा अनुसार आज पाँचौँ दिन स्कन्दमाताको आराधना भइरहेको हो । धार्मिक विश्वासअनुसार देवीको पूजा–आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ ।
नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ । यी नौ रूपलाई नै नवदुर्गा भनिन्छ ।
नवरात्रमा गरिएको पूजा–आराधनाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने चलन छ ।