
काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभर करिब एक खर्ब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । यसमध्ये सरकारी सम्पत्तिमात्रै करिब एक खर्ब बराबरको नोक्सानी भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जानकारी दिनुभयो ।
मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले सरकारी कार्यालय, सवारीसाधन, न्यायालयदेखि संसद भवनसम्ममा भएको आगजनी, लुटपाट र तोडफोडका कारण ठूलो परिमाणमा क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार विस्तृत मूल्याङ्कनका लागि सहरी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगमार्फत प्राविधिक टोली परिचालन भइसकेको छ ।
प्रारम्भिक विवरणअनुसार गण्डकी प्रदेशका स्वास्थ्य, कृषि र पूर्वाधार मन्त्रालयबाहेकका सबै कार्यालय ध्वस्त भएका छन् । बागमतीमा २६ कार्यालय र ६० भवन जलेर नष्ट भएका छन् भने कर्णाली प्रदेश सभाभवन, मुख्यमन्त्री तथा लेखा नियन्त्रण कार्यालयसमेत ध्वस्त भएका छन् । सरकारी स्वामित्वका चारपाङ्ग्रे १,०२६ र दुईपाङ्ग्रे १,९८३ सवारीसाधन जलेको गोरखापत्रको आकलन छ ।
निजी क्षेत्रतर्फ करिब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार जिल्लास्तरका संयन्त्रमार्फत विस्तृत विवरण संकलन भइरहेको छ ।
सबैभन्दा बढी नोक्सानीमा परेको निजी संस्थामध्ये भाटभटेनी सुपरस्टोरको मात्रै करिब एक अर्ब रुपियाँ बराबरको क्षति भएको छ भने हिल्टन होटेल जलेर करिब छ अर्बको क्षति भएको दाबी गरिएको छ । चन्द्रागिरि र मौलाकालिका केबुलकार क्षतिग्रस्त बनेका छन् भने चौधरी ग्रुपको सिजी पार्क जलेर खरानी भएको छ ।
यस्तै, विभिन्न स्थानका होटेल, मल र पसलमा भएको तोडफोड र लुटपाटका कारण साना व्यवसायीहरू पनि गम्भीर नोक्सानीमा परेका छन् ।