
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गर्दा तुलसीपुर उपमहानगरपालिकाको अत्यावश्यक दमकल जलेर ध्वस्त भएको छ । यससँगै तुलसीपुर मात्र होइन, सोही दमकलमा निर्भर शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका पनि दमकलविहीन बनेका छन् ।
करीब तीन हजार लिटर क्षमताको उक्त दमकल केही वर्षअघि उपमहानगरपालिकाले खरिद गरेको थियो । तर आन्दोलनका क्रममा अन्य सवारीसाधनसँगै जलाइएपछि अब आकस्मिक आगलागी नियन्त्रणमा गम्भीर समस्या बढेको विपद् व्यवस्थापन शाखाले जनाएको छ । वैकल्पिक रूपमा प्रयोग हुने जेटपम्पसहितको ट्याक्टर पनि जलेपछि संकट झन् गहिरिएको छ ।
विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीका अनुसार उपमहानगरपालिकामा भएको अर्को पुरानो दमकल पहिले नै बिग्रिएको थियो । उनले नयाँ खरिद गर्न कम्तीमा ७५ देखि ८० लाख रुपैयाँ आवश्यक पर्ने बताउँदै हाल पालिकाका सबै विपद् व्यवस्थापन सामग्री, दमकलदेखि भर्खर खरिद गरिएका प्रहरी उपकरणसम्म जलेर खरानी भएको जानकारी दिए ।
दाङलगायत छिमेकी जिल्लामा समेत सहयोग पुर्याउने दमकल जलेपछि अब आगलागी वा अन्य विपद् आइपरेमा तत्काल व्यवस्थापन कसरी गर्ने भन्ने गम्भीर चुनौती खडा भएको छ । स्थानीय तह वैकल्पिक उपायका रूपमा जेटपम्प मर्मतको सम्भावना खोजिरहेका छन्, तर दमकल पूर्ण रूपमा नष्ट भएकाले तत्काल समाधान कठिन देखिएको छ ।