
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै आइतबार थप पाँच जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको छ ।
राष्ट्रपतिको सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पूर्वसर्वोच्च न्यायाधीश अनिलकुमार सिन्हालाई दिने सिफारिस गरिएको छ । त्यस्तै, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा राष्ट्रिय अनुसन्धान केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुन सिफारिस भएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा समता फाउन्डेसनका अध्यक्ष तथा संविधानसभा अन्तर्गतको राज्य पुनर्संरचना सुझाव आयोगका पूर्वअध्यक्ष डा. मदनप्रसाद परियार सिफारिस भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व हाल स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव रहेकी डा. सङ्गीता कौशल मिश्राले गर्नेछिन् ।
यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पत्रकार जगदीश खरेललाई सिफारिस गरिएको छ । दुई दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय रहेका खरेल हाल इमेज टेलिभिजनमा समाचार प्रमुखको जिम्मेवारीमा थिए ।