
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी यो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशैभर क्षति विवरण संकलन भइरहेको उल्लेख गर्दै ठूला उद्योगसँगै राजधानीबाहिरका साना व्यवसायहरूको विवरण अझै आउन बाँकी रहेको बताए । उनका अनुसार अहिले उपलब्ध सूचनाअनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।
बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले अर्थतन्त्रको पुनर्निर्माण, पुनरुत्थान र लगानीकर्ताको विश्वास पुनःस्थापना गर्न सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । तर, व्यवसायीहरूले बीमा दाबी छिटो भुक्तानी गर्ने, प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना, कर छुट, भन्सारमा सहुलियत, ब्याज अनुदान र नयाँ लगानी प्रोत्साहनका उपाय अविलम्ब लागू गर्न आग्रह गरेका थिए ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको समस्या समाधानका लागि मन्त्रिपरिषद्मा छलफल गर्ने आश्वासन दिएको जानकारी दिए । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अकल्पनीय नोक्सानीले लगानीकर्ताको मनोबल खस्किएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे ।