
काठमाण्डौ — दशैं नजिकिँदै गर्दा देशका प्रमुख राजमार्ग अवरुद्ध बनेका छन् । कोशी राजमार्ग, सिद्धिचरण लोकमार्ग, गल्छि–त्रिशूली सडक, अरनिको राजमार्ग, नारायणगढ–मुग्लिन सडक, कालीगण्डकी करिडोर, पूर्व–पश्चिम राजमार्ग, रत्न राजमार्ग तथा मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा पहिरो र अन्य कारणले यातायात ठप्प भएको छ ।
सडक बन्द हुँदा यात्रामा रहेका सयौं यात्रु अलपत्र परेका छन् । दशैं जस्तो ठूलो चाडको पूर्वसन्ध्यामा राजमार्ग अवरुद्ध भएपछि जनस्तरमा चासो र चिन्ता बढेको छ ।
शनिबार दिउँसो सिंहदरबारस्थित भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । ऊर्जा र शहरी विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मन्त्री कुलमान घिसिङको नेतृत्वमा बसेको बैठकमा सडक अवरोध खुलाउने विषयमा छलफल भएको हो ।
सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ, मजदुर तथा सुरक्षा निकायका अधिकारीहरूले अवरोधग्रस्त सडक खण्डबारे मन्त्रीलाई जानकारी दिएका छन् । विशेषगरी नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार रातिदेखि नै अवरुद्ध छ । लगातार पहिरो खस्दा सडक खोल्न कठिनाइ भएको र यात्रुहरू रातिदेखि अलपत्र परेको जनाइएको छ ।