
काठमाण्डौ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म मुलुकभर ३ हजार ६८१ विपद्का घटना भएका छन् । ती घटनाबाट ६ हजार ५९० परिवार प्रभावित भएका छन् । सो अवधिमा २४३ जनाको मृत्यु, ८६९ जना घाइते तथा २४ जना बेपत्ता भएका छन् ।
सबैभन्दा धेरै आगलागीका घटना दर्ता भएका छन् । एक हजार २९५ आगलागीमा २३ जनाको मृत्यु र १७७ जना घाइते भएका छन् भने १ हजार ४११ परिवार प्रभावित भएका छन् । बाढीका २६३ घटनामा २९ जनाको मृत्यु, २३ बेपत्ता, १४ घाइते र १ हजार ८६१ परिवार प्रभावित भएका छन् ।
यसैगरी, ४६३ पहिरोमा २४ जनाको मृत्यु, ४१ घाइते भएका छन् भने भारी वर्षाका ३४० घटनामा ६ जनाको मृत्यु, १४ घाइते र ८११ परिवार प्रभावित भएका छन् । चट्याङका २९० घटनामा ३८ जनाको मृत्यु, २१२ जना घाइते तथा ३५१ परिवार प्रभावित भएको छ ।
सर्पदंशबाट ३०४ घटनामा ७७ जनाको मृत्यु र २३३ जना घाइते भएका छन् । वन डढेलोका १८५ घटनामा दुई जना घाइते र २७ परिवार प्रभावित भएका छन् । हावाहुरीका २८४ घटनामा ८ जनाको मृत्यु, ४४ घाइते र ५४१ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
जनावर आक्रमणका २१७ घटनामा २० जनाको मृत्यु, ८८ घाइते र ३६६ परिवार प्रभावित भएका छन् । प्राधिकरणले विपद् न्यूनीकरणका लागि पूर्वसावधानी, सचेतना कार्यक्रम र पूर्वसूचना प्रणालीलाई व्यवस्थित पार्ने काम भइरहेको जनाएको छ ।