Banner Nepal
रूस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, स्थानीयवासी त्रसित

काठमाण्डौ । प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा पर्ने रूसको कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवा क्षेत्रमा शुक्रबार बिहान शक्तिशाली भूकम्प आएपछि स्थानीय बासिन्दा त्रासमा परेका छन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार रूसमा ७.८ म्याग्निच्युडको भूकम्प पेट्रोपाभ्लोभस्क–कामचाट्स्कीबाट १२८ किलोमिटर पूर्व, १० किलोमिटर गहिराइमा आएको हो । भवनहरू हल्लिँदा स्थानीयहरू बाहिर निस्किएका थिए । रूसी जियोफिजिकल सेवाले यसलाई ७.४ म्याग्निच्युड मापन गर्दै कम्तीमा पाँच पटक परकम्प महसुस भएको जनाएको छ ।

सामाजिक सञ्जालमा घरभित्रका सामग्रीदेखि सडकमा रहेका कारसम्म हल्लिएको दृश्य सार्वजनिक भएको छ । सुरुमा जारी गरिएको सुनामी चेतावनी केही घण्टामै हटाइए पनि अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरले नजिकैको तटमा खतरनाक छाल आउन सक्ने चेतावनी दिएको थियो । हालसम्म ठूला क्षतिको समाचार भने आएको छैन ।

त्यसैगरी, इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तमा ६.१ म्याग्निच्युडको भूकम्प गएको USGS ले जनाएको छ । नबिरे सहरबाट २८ किलोमिटर दक्षिण, १० किलोमिटर गहिराइमा केन्द्रित भूकम्पलाई त्यहाँको BMKG एजेन्सीले ६.६ म्याग्निच्युड र २४ किलोमिटर गहिराइमा मापन गरेको छ ।

प्रशान्त महासागरको भूगर्भीय चाप ‘रिङ अफ फायर’ को उच्च गतिविधिपूर्ण क्षेत्रमा पर्न गएको कारण इन्डोनेसिया र रूसका तटीय बासिन्दा निरन्तर जोखिममा रहने विज्ञहरूले चेतावनी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update