Banner Nepal
कास्की कारागारबाट निस्किएका कैदीबन्दी फर्किने क्रम तीव्र

काठमाण्डौ । जेनजी आन्दोलनको क्रममा आक्रमणपछि कास्की जिल्ला कारागारबाट निस्किएका कैदीबन्दीहरू क्रमशः फर्किन थालेका छन् । कारागार प्रशासक राजेन्द्र शर्माका अनुसार भदौ २४ गते कारागारबाट बाहिरिएका मध्ये बिहीबारसम्म ३७० जना कैदीबन्दी फर्किएका छन् ।

हाल कास्की कारागारमा ७७३ मध्ये ४०३ जना कैदीबन्दी अझै बाहिर रहेका छन् । फर्किनेहरुमध्ये ३ जना भारतीय र एक क्यानेडियन समेत छन् भने अझै १० भारतीय, २ जना चिनियाँ र एक अमेरिकी कैदीबन्दी नफर्केको जानकारी प्रशासक शर्माले दिए । अमेरिकी कैदीबन्दी लेकसाइडमा रहेको र चिनियाँ कैदीबन्दी कानुनी प्रतिनिधिसँग सम्पर्कमा रहेको समाचार आएको पनि उनले बताए ।

महिला कैदीबन्दी ३५ मध्ये १४ जना फर्किएको उल्लेख गर्दै उनले भदौ २९ गतेदेखि सरसफाइ र विद्युत व्यवस्थापन सुध्रिएपछि कैदीबन्दी फर्किने प्रक्रिया सुरु भएको बताए । आक्रमणका क्रममा कारागारको प्रशासनिक भवनमा क्षति पुगेको, फर्निचर र कम्प्युटर जलेको र सवारीसाधनमा समेत आगजनी भएकाले काममा समस्या आएको उनको भनाइ छ ।

क्षमता ४२० जनामात्र रहेको कारागारमा अहिले दोब्बर भन्दा बढी कैदीबन्दी राखिँदै आएको छ । सामान्य स्थिति फर्किँदै गएपछि कारागार प्रशासनले बाँकी कैदीबन्दीलाई पनि शीघ्र फर्कन आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update