
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र राष्ट्रपति संस्थालाई जोगाउन आफूले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले जेनजी आन्दोलनपछि तत्कालीन सरकार ढलेसँगै संविधान र राष्ट्रपतिको पद खारेज गर्ने प्रयास भएपनि आफूले त्यसलाई रोक्न सहजीकरण गरेको दाबी गरे ।
उनका अनुसार संसद विघटन मात्र नभई संविधान खारेज र राष्ट्रपतिलाई हटाउनेसम्मको योजना बनेको बेला उनले राष्ट्रपति, प्रधानसेनापति र अन्य दलका नेतासँग रातभर छलफल गर्दै अन्तरिम सरकारमार्फत संविधान सुरक्षित गर्ने पहल गरेका थिए ।
‘यो संविधान साधारण होइन, यसको निर्माणमा हाम्रो योगदान छ,’ प्रचण्डले भने, ‘त्यसैले राष्ट्रपति संस्थालाई बचाउनुपर्ने जिम्मेवारी पनि मैले नै लिएको हुँ ।’ उनले प्रधानसेनापतिको भूमिकाप्रति आभार व्यक्त गर्दै राजनीति बाटो ननिक्लिए मुलुक संकटतर्फ धकेलिन सक्ने चिन्ता सेनापतिले पनि देखाएको बताए ।
जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका घटना भए पनि त्यसमा बाह्य घुसपैठ भएको दाबी गर्दै प्रचण्डले आन्दोलनकारीलाई संयमित हुन आग्रह गरे । साथै, अहिलेको संविधानलाई संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली ल्याउनुपर्ने धारणा उनले प्रस्तुत गरे ।