
काठमाडौं । जनमत पार्टीको कोशी प्रदेश कमिटीले केही नेताले पार्टी छाड्दैमा पार्टी भित्रको एकता कमजोर नभएको दाबी गरेको छ । पार्टीको कोशी प्रदेश अध्यक्ष बुद्धिराज न्यौपानेले विज्ञप्ती जारी गर्दै कोशी प्रदेश भित्र पार्टीको एकता अटुट रहेको दाबी गरेका हुन् ।
पार्टी छाडेर जानेहरुका कारण बरु पार्टीको गतिशीलता र एकतालाई थप मजबुत बनाउने अवसर प्रदान गरेको उल्लेख छ । पार्टीका अध्यक्ष डा. सीके राउतको नेतृत्वमा कोशी प्रदेश कमिटीले आफ्नो आन्तरिक प्रक्रिया र लोकतान्त्रिक मूल्य मान्यतालाई थप बलियो बनाउने न्यौपानेले उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “व्यक्तिगत स्वार्थ र लालचमा आएकाहरू पार्टीका कर्मठ सिपाही थिएनन्, जसलाई उनीहरूले आफ्नो कदमबाट पुष्टि गरिसके । यस्ता व्यक्तिहरूको बहिर्गमनले पार्टीको एकतामा कुनै असर परेको छैन, बरु हामीलाई आगामी दिनमा थप सजग र चनाखो बनाएको छ ।” पार्टीले आफ्नो मूल उद्देश्य—मधेशको हकहित, संघीयताको सुदृढीकरण र जनताको सशक्तिकरण—प्रति कटिबद्ध रहेको न्यौपानेले दोहोर्याएका छन् ।
कोशी प्रदेश कमिटीले सम्पूर्ण कार्यकर्ता र समर्थकलाई पार्टीको एकतामा शंका नगरी कोशी प्रदेशको विकास र जनमतको आन्दोलनलाई थप बलियो बनाउन सक्रिय रहन अपिल गरेको छ ।