Banner Nepal
आन्दोलनको आगजनीबाट दुई दर्जन कम्पनी प्रभावित, बीमा क्षेत्रमा ३० अर्ब दाबी

काठमाण्डौ । भदौ २४ मा भएको विरोध प्रदर्शन, आगजनी र तोडफोडका घटनाले सेयर बजारमा सूचीकृत करिब दुई दर्जन कम्पनीलाई प्रत्यक्ष वा अप्रत्यक्ष असर पुर्‍याएको छ ।

प्रत्यक्ष रूपमा तारागाउँ रिजेन्सी होटल, चन्द्रागिरि हिल्स लिमिटेड र नेपाल टेलिकमको संरचनामा क्षति पुगेको छ । होटल र पर्यटन समूहका अन्य ४ कम्पनी—सोल्टी, ओरियन्टल, सिटी होटल र कालिन्चोक दर्शनलाई समेत अप्रत्यक्ष असर पर्ने देखिएको छ ।

नेपाल होटल संघका अध्यक्ष विनायक शाहका अनुसार पर्यटक बुकिङ रद्द हुन थालेका छन् र विश्वबजारमा नकारात्मक सन्देश गएको छ । “सरकार र निजी क्षेत्रले सकारात्मक सन्देश दिन सके केही महिनामा पर्यटन क्षेत्र रिकभर हुन्छ,” उनले बताए ।

निर्जीवन बीमा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । १३ निर्जीवन बीमा कम्पनी र २ पुनर्बीमा कम्पनीलाई क्षति बापत हालसम्म ३० अर्ब रुपैयाँभन्दा बढी दाबी दर्ता भएको छ, र यो रकम अझै बढ्ने अनुमान छ । इक्रा नेपालले नेपाल पुनर्बीमा र पाँच निर्जीवन बीमालाई ‘नकारात्मक प्रभावमा हेर्नुहोस्’ भन्दै सूचना पनि जारी गरेको छ ।

नेपाल टेलिकमको वीरगन्जसहितका कार्यालय रिचार्ज कार्डसहित क्षति पुगेको छ भने केही दिनसम्म निशुल्क कल सेवा दिनुपरेको थियो । तर हाइड्रोपावर क्षेत्र भने सुरक्षित रहेको स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले जनाएका छन् ।

यता, बैंकिङ क्षेत्रमा ६१ शाखामा क्षति पुगेको भए पनि पूँजीगत असर ठूलो छैन । तर पुनर्निर्माणका लागि कर्जा प्रवाह बढ्न सक्ने भएकाले बैंक तथा वित्तीय संस्थाको कारोबारमा अस्थायी वृद्धि हुन सक्ने देखिएको छ । निर्माण क्षेत्रमा भने उल्टै माग बढ्ने भएकाले सिमेन्ट कम्पनीहरूले सकारात्मक प्रभाव पाउने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update