
काठमाण्डौ, असोज २ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडबाट क्षतिग्रस्त नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को बुधबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणपछि अर्थमन्त्री खनालले क्षतिग्रस्त भवनलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिने बताए । मन्त्री घिसिङले भने सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवन आगामी पुसभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै फागुनमा हुने निर्वाचनपछि संसद्को बैठक त्यहीँबाट सञ्चालन हुने जानकारी दिए ।
भवन विभागका महानिर्देशक मचाकाजी महर्जनका अनुसार सिंहदरबारको पुतलीबगैँचास्थित १७३ रोपनी ८ आना जग्गामा बनेको नयाँ संसद् भवनको ८६ प्रतिशत काम सम्पन्न भइसकेको छ । ठेक्का म्याद पुस १६ गतेसम्म भएकाले सो अवधिभित्र निर्माण सकिने विश्वास दिलाइएको छ ।
परिसरलाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ र सडक पूर्वाधार गरी चार भागमा विभाजन गरिएको छ । कुल पाँच अर्ब तीन करोड रुपैयाँ लागतमा ‘इन्टरनेसनल स्टेट अफ द आर्ट’ डिजाइनमा निर्माण भइरहेको यो भवन टुन्डी कन्स्ट्रक्सन र चिनियाँ कम्पनी सेक (संयुक्त) ले ठेक्का पाएका हुन् ।