
काठमाण्डौ । सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने घोषणा गरेसँगै प्रमुख राजनीतिक दलहरूले आ–आफ्ना कार्यकर्तालाई चुनावी तयारीमा लाग्न निर्देशन दिन थालेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नेताहरूले वर्तमान परिस्थितिबाट निस्कने एक मात्र बाटो निर्वाचन रहेको धारणा व्यक्त गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार प्रदेश समिति र जनवर्गीय संगठनलाई भर्चुअल बैठकमार्फत चुनावी तयारीमा जुट्न निर्देशन दिएका छन् । पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार, अध्यक्षले अब कुनै न कुनै रूपमा निर्वाचन सामना गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संवैधानिक बाटोमार्फत संसद् विघटनको टुङ्गो लगाउनुपर्नेमा जोड दिंदै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्नुपर्ने धारणा राखेका छन् ।
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रमा चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै हालको असामान्य परिस्थितिलाई निर्वाचनले मात्र सामान्य अवस्थामा ल्याउन सक्ने दाबी गरे । तर, संसद् विघटनको वैधानिक टुङ्गो नलागेसम्म मुलुक चुनावतिर नजाने चेतावनीसमेत दिए ।
माओवादी उपमहासचिव जनार्दन शर्माले जेनजी आन्दोलनले दलतन्त्र र नेतातन्त्रका विकृति उजागर गरेको भन्दै अब नयाँ ढङ्गले देशलाई अघि बढाउन निर्वाचन नै उचित उपाय भएको बताए ।
यसैबीच, रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले भ्रष्टाचार, बेथिति र अत्याचार अन्त्य गर्न शान्तिपूर्ण लोकतान्त्रिक मार्गकै विकल्प नभएको भन्दै निर्धारित समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।