Banner Nepal
भाटभटेनीमा जलेका ७ शव अझै अपरिचित

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा लगाइएको आगलागीपछि जलेको अवस्थामा फेला परेका सात शवको पहिचान अहिलेसम्म हुन सकेको छैन । सरसफाइका क्रममा भेटिएका शव कङ्काल मात्र बाँकी रहेकाले सीधै पहिचान गर्न नसकिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए ।

उनका अनुसार, जलेका शवका परिवारजन सम्पर्कमा आएर डिएनए परीक्षण गराएपछि मात्र पहिचान सम्भव हुनेछ । “सातै शव चिनिने अवस्थामा छैनन् । तर डिएनए प्रोफाइलिङ गरेर सुरक्षित राखिएको छ । परिवारले दाबी गरेमा ‘म्याच’ गरेर शव हस्तान्तरण गर्न सकिन्छ,” खनालले स्पष्ट पारे ।

यता, काठमाडौँ प्रहरी परिसर प्रमुख विश्व अधिकारीका अनुसार, कोटेश्वर भाटभटेनी नजिकै भेटिएको एक शवको भने पहिचान भएको छ । रामेछाप खाँडादेवी–६ का विकास रसाइलीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र त्यसपछि मात्रै परिवारलाई बुझाइने जनाइएको छ ।

प्रहरी तथ्यांकअनुसार, जेनजी आन्दोलनमा अहिलेसम्म ७४ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update