
काठमाण्डौ । जेनजी आन्दोलन हिंसात्मक बनेसँगै कारागार तोडेर भागेका १४ हजार ५४९ कैदीमध्ये हालसम्म ४ हजार ७७४ कैदी मात्र कारागार फर्किएका छन् । बाँकी ९ हजार ८०३ जना फरार कैदीले मुलुकको विषम परिस्थितिको फाइदा उठाउँदै गृह प्रशासन र न्यायपालिकाका उच्च पदस्थ अधिकारीलाई नै धम्की दिन थालेका छन् ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लका अनुसार कारागारबाट भागेकामध्ये धेरैले न्यायाधीशहरूलाई भर्चुअल माध्यममै धम्की दिन थालेका छन् । अराजक भिडले तोडफोड र आगजनी गर्दा सर्वोच्चसहित कम्तीमा १८ वटा अदालत ध्वस्त भएका छन् ।
कारागार नफर्किएका फरार कैदीमध्ये हत्या, लागुऔषध र जघन्य अपराधमा संलग्नहरू रहेका छन् । तीमध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डे (गोरे भनिने चूडामणि उप्रेती) पनि छन् । कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माका अनुसार देशभर ७४ वटा कारागारमा ३० हजार ६१८ कैदी रहेकामा १५ हजार ५४५ जना कैदी यथावत् कारागारमै छन् ।
विभागले फरार कैदीलाई तत्काल आत्मसमर्पण गर्न आग्रह गरेको छ । नफर्किनेहरूलाई कानुनी कारबाही गर्ने र पक्राउ अभियानमा सबै सुरक्षा निकाय र जिल्ला प्रशासन सक्रिय भइसकेको शर्माले जानकारी दिए ।
जेनजी आन्दोलनको क्रममा २३ भदौमा सुरक्षाको कारण देखाउँदै रास्वपा सभापति रवि लामिछाने कारागारबाट निस्किएको खबर फैलिँदा कैदीहरूले सामूहिक रूपमा जेल तोडफोड गरेका थिए । त्यसपछि सार्वजनिक सम्पत्ति, सुरक्षा निकाय र निजी क्षेत्रमा आगजनी, तोडफोड र लुटपाट मच्चाइएको थियो । हिंसात्मक गतिविधिमा संलग्न पाँच जना कैदी र पाँच जना बालबन्दी प्रहरी कारबाहीमा मारिएका छन् ।