Banner Nepal
गाजामा इजरायली आक्रमण तीव्र, संयुक्त राष्ट्रसङ्घको कडा निन्दा

काठमाण्डौ । गाजामा पछिल्ला दुई दिनयता इजरायली सैन्य कारबाही तीव्र भएपछि संयुक्त राष्ट्रसङ्घले त्यसको कडा निन्दा गरेको छ । यस आक्रमणमा दर्जनौँ व्यक्तिको ज्यान गइसकेको र धेरै घाइते भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले गाजा पट्टीमा चरम भोकमरी र कठिनाइ झेलिरहेका नागरिकमाथि यस आक्रमणले विनाशकारी असर पारेको बताए । दैनिक पत्रकार सम्मेलनमा उनले नागरिक र मानवीय कामदारको सुरक्षालाई सुनिश्चित गर्न तथा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गरे ।

डुजारिकका अनुसार चार दिनभित्र युएनआरडब्लुईका सात विद्यालय र दुई स्वास्थ्य क्लिनिकसहित १० भवनमा बम आक्रमण भएको छ, जसमा हजारौँ विस्थापित नागरिकले आश्रय लिइरहेका थिए ।

त्यस्तै दक्षिणतर्फ जाने एक मात्र बाटो राशिद रोड अत्यधिक भीडभाडयुक्त बनेको छ । मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए)का अनुसार दक्षिणतर्फ जान करिब १,६०० अमेरिकी डलर खर्च हुने भएकाले धेरै विस्थापित त्यहाँ जान असमर्थ भई उत्तरी भागमै बस्न बाध्य भएका छन् ।

सुरक्षित र दिगो मानवीय पहुँच सुनिश्चित नभए विशेष गरी बालबालिकामा भोकमरी चर्किने खतरा रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । डुजारिकले साझेदार संस्थाको उद्धरण दिँदै गाजा सहरका एक तिहाइ कुपोषण उपचार केन्द्र विस्थापन आदेशका कारण बन्द भएको जानकारीसमेत दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update