
काठमाण्डौ । प्रतिनिधिसभा विघटनसँगै आगामी फागुन २१ गते निर्वाचन हुने तय भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ ।
यसअघि कात्तिक १७ गतेका लागि तोकिएको रूपन्देही–३ उपनिर्वाचन कार्यक्रम रद्द गर्दै आयोगले अब मध्यावधि निर्वाचनमा ध्यान केन्द्रित गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन मिति घोषणा भएपछि सरकारसँग औपचारिक परामर्श, व्यवस्थापकीय तयारी र योजना तर्जुमा सुरु भएको छ । यसैबीच नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि आवश्यक बजेट सुनिश्चित गर्न परिमार्जित विनियोजन ल्याउने घोषणा गरेका छन् ।
भदौ २३–२४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलनपश्चात तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । सोही दिन प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको हो ।