काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि मङ्गलबार बेलायत पुगेका छन् । अस्थिर स्वभावका कारण चर्चामा रहने ट्रम्पलाई सन्तुष्ट पार्न बेलायती सरकार कुनै कसर बाँकी राख्न चाहेको छैन ।
युक्रेन युद्ध, मध्यपूर्व तनाव र अमेरिकी कर नीतिका कारण बेलायतले राजतन्त्रको भव्य प्रदर्शनमार्फत ट्रम्पलाई आफ्नो पक्षमा राख्न खोजेको देखिन्छ । तर यौन अपराधी जेफ्री एपस्टेन सम्बन्धी विवाद र अभिव्यक्ति स्वतन्त्रताको बहसले प्रधानमन्त्री किर स्टार्मर र ट्रम्पबीचको छलफल असहज बनाउन सक्ने आकलन गरिएको छ ।
राजा चाल्र्स तृतीयसँगको जुलुस र विन्डसर क्यासलमा आयोजना गरिएको राजकीय भोजमार्फत ट्रम्पलाई स्वागत गरिनेछ । उनलाई लन्डन बाहिर राखिने तयारी छ, जहाँ ठूला प्रदर्शनको आह्वान भएको छ । यद्यपि, जनवरीमा ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि सम्बन्ध बलियो बनाउन स्टार्मर आफैं सक्रिय देखिएका छन् ।
भ्रमणका क्रममा करिब १० अर्ब पाउन्ड (१३ अर्ब ६० करोड डलर) बराबरको सम्झौतामा हस्ताक्षर हुने अपेक्षा छ । यसले नयाँ आणविक परियोजनालाई गति दिने जनाइएको छ । गुगल, पेपल, सिटी ग्रुपसहितका अमेरिकी कम्पनीहरूले पनि ठूलो मात्रामा लगानी गर्ने घोषणा गरेका छन् ।
२०१९ मा दिवङ्गत महारानी एलिजाबेथ द्वितीयलाई भेटेका ट्रम्प दोस्रोपटक राजकीय भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नेछन् । बुधबार शाही भोजपछि बिहीबार चेकर्समा हुने वार्तामा बेलायतले अमेरिकी व्यापार सम्झौता सुरक्षित गर्ने र ट्रम्पको कर नीतिबाट जोगिन प्रयास गर्नेछ ।
तर एपस्टेन प्रकरण र शाही परिवारसँगको सम्बन्धले यो भ्रमणलाई राजनीतिक छायामा पार्न सक्ने बताइन्छ । यसबीच, प्रथम महिला मेलानिया ट्रम्पले रानी क्यामिलासँग छुट्टै कार्यक्रममा सहभागी हुनेछन् । युक्रेनको समर्थन, पुटिनसँगको सम्बन्धबारे प्रश्न र अभिव्यक्ति स्वतन्त्रताबारे उठ्ने बहसले पनि भ्रमणलाई थप संवेदनशील बनाएको छ ।


