संसद् सचिवालयद्वारा लुटिएका मालसामान फिर्ता गर्न आग्रह

काठमाण्डौ । सङ्घीय संसद् सचिवालयले भदौ २४ गते जेनजी युवाहरूको प्रदर्शनका क्रममा संसद् भवनबाट लुटिएका सामग्री फिर्ता गर्न आग्रह गरेको छ ।
सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सोमबार सार्वजनिक गरेको सूचनामा प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिनलगायतका विद्युतीय उपकरण अनधिकृत व्यक्तिले लगेको भन्दै ती सामग्री फिर्ता गर्न अनुरोध गरिएको हो ।
यस्ता सामग्री कहाँ र कसले राखेको वा लगेको भन्ने जानकारी भएमा वा सम्बन्धित भिडियो प्रमाण भए उपलब्ध गराउन अपिल गरिएको छ । सूचनादाता व्यक्तिको नाम गोप्य राखिने पनि सचिवालयले स्पष्ट पारेको छ ।
स्मरणीय छ, भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा जेनजीको प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२ १४:५३
प्रतिक्रिया दिनुहोस्