-1757927166.jpg)
काठमाण्डौ। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आइतबार पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा शपथग्रहण गरेपछि उहाँले मन्त्रालयमा कार्यभार सम्हाल्नुभएको हो । खनाललाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा अर्थमन्त्रीमा नियुक्त गरिएको हो ।
पदभार ग्रहणपछि मन्त्रालयमा कर्मचारीहरूसँग ब्रिफिङ गर्दै गर्दा पर्वतका शालिकराम पौडेल नामक व्यक्तिले बजेट विभाजनमा अन्याय भएको भन्दै आक्रोश पोखेका थिए । ‘७ वटा जिल्लालाई मात्रै लक्षित गरेर बजेट बनाइएको छ, हाम्रा गाउँलाई केही छैन,’ भन्दै उनी मन्त्रीको नजिक पुगेका थिए ।
खनालले शान्त पार्न प्रयास गरे पनि पौडेल थप उत्तेजित हुँदै ‘हामीले पनि आन्दोलन गरेका हौँ, तपाईं त्यसकै कारण मन्त्री हुनुभएको हो,’ भन्दै चर्को असन्तुष्टि जनाए । परिस्थिती नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरे पनि पौडेल नरोकिएपछि मन्त्री खनालले हात मिलाउँदै परिचय सोधेका थिए । जवाफमा पौडेलले मन्त्रालयभित्र अनियमितता भएकाले आन्दोलन गर्नुपरेको बताए ।