
काठमाण्डौ । नेपालमा अन्तरिम सरकार गठनसँगै अन्तर्राष्ट्रिय समुदाय र मित्रराष्ट्रहरूले यसलाई स्वागत गरेका छन् । उनीहरूले नयाँ सरकारमार्फत देशमा शीघ्र शान्ति, स्थिरता र लोकतान्त्रिक मूल्यको संरक्षण हुने विश्वास व्यक्त गर्दै आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्क्रमणकालीन अवस्थाबाट निस्कन पहल गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले उनको भूमिकाको प्रशंसा गरेको छ । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरिएकोमा विभिन्न देशहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
छिमेकी भारतले वक्तव्यमार्फत कार्की नेतृत्वको सरकारको स्वागत गर्दै दुई देशबीचको मित्रता, लोकतान्त्रिक यात्राको साझेदारी र दीर्घकालीन विकास सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत नेपाली जनताको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णतः प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
युरोपेली सङ्घले पनि कार्कीलाई प्रधानमन्त्री नियुक्त भएकोमा स्वागत गर्दै नेपालको लोकतन्त्र, स्थिरता र मेलमिलापका लागि निरन्तर समर्थन गर्ने प्रष्ट पारेको छ ।
नेपालको पुरानो मित्र राष्ट्र बेलायतले जीवन र सम्पत्तिको क्षति हुने दुःखद घटनापछि अन्तरिम सरकार गठन हुनु महत्त्वपूर्ण कदम भएको उल्लेख गर्दै समावेशी शासन र जवाफदेहिताका लागि नेपाली जनताको आकाङ्क्षालाई समर्थन गर्ने प्रतिवद्धता दोहोर्याएको छ ।
जापान सरकारले पनि नेपालले चाँडै सङ्क्रमणकाल अन्त्य गर्ने विश्वास व्यक्त गर्दै नेपाल–जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउँदै विकास र समृद्धिका लागि निरन्तर सहयोग गर्ने आश्वासन दिएको छ ।