Banner Nepal
जेनजी आन्दोलनपछि ठप्प सार्वजनिक यातायात बिस्तारै सञ्चालनमा

काठमाण्डौ । जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि चार दिनसम्म पूर्ण रूपमा ठप्प रहेको सार्वजनिक यातायात शनिबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ । नागढुङ्गास्थित प्रहरी चेक पोस्टका अनुसार उपत्यकाबाट बस र माइक्रोबसहरू बढी मात्रामा बाहिरिएका छन् भने गोङ्गबु नयाँ बसपार्कबाट पनि दिवा र रात्रिबस छुट्न थालेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले स्थानीय सरकारसँग समन्वय गरी व्यवसायीहरूले आफ्नै जोखिममा यातायात सञ्चालन सुरु गरेको जानकारी दिए । उनले अझै भयमुक्त वातावरण बनेको नसकेकाले पूर्ण रूपमा सहजता नभए पनि भोलिदेखि स्थिति सामान्यतर्फ जान सक्ने आशा व्यक्त गरे । दसैँ नजिकिँदै गरेकाले यातायात क्षेत्रमा सरकारले सक्रिय ध्यान दिनुपर्ने उनको भनाइ छ ।

शनिबार दिउँसो ३ बजेपछि उपत्यकाबाट बाहिरिने सार्वजनिक गाडीहरूको सङ्ख्या बढे पनि उपत्यकामा भित्रिने गाडी निकै कम भएको वरिष्ठ प्रहरी हवल्दार सुमनमणि पौडेलले बताए । रात्रिबस र माइक्रोबस बढी मात्रामा बाहिरिएका छन् भने आन्तरिक यातायातमा टेम्पो, ट्याक्सी र केही बस सञ्चालनमा आएका छन् ।

गत मङ्गलबारदेखि उपत्यकाभर ठप्प बनेको यातायात शनिबार बिहानदेखि आंशिक रूपमा चल्न थालेको हो । शुक्रबार फाट्टफुट्ट सवारीसाधन मात्रै चलेका थिए । नयाँबानेश्वर क्षेत्रबाहेक सोमबार केही सवारी चले पनि मङ्गलबारदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो । शनिबार बिहान कफ्र्यु हटेपछि सार्वजनिक यातायात विस्तारै सामान्यतर्फ फर्किएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update