
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसको अवसरमा नेपाली बालबालिका तथा अभिभावकलाई शुभकामना व्यक्त गर्दै बाल अधिकार कार्यान्वयनमा सबै सरोकारवालाको सक्रियता आवश्यक रहेको बताएका छन् । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २९ गते बाल दिवस मनाइँदै आएको छ । यस वर्षको नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ तय गरिएको छ ।
राष्ट्रपति पौडेलले सन्देशमार्फत संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासका क्षेत्रमा आवश्यक लगानी गर्नुपर्नेमा जोड दिए । उनले सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, विद्यालय, अभिभावक र अन्य सरोकारवालाको समन्वयात्मक भूमिका अपरिहार्य हुने बताए ।
सन्देशमा अझै पनि केही बालबालिका आफ्नो अधिकारबाट वञ्चित रहेको उल्लेख गर्दै उनले बालबालिकामाथि हुने हिंसा, अमानवीय व्यवहार र दुर्व्यवहार रोक्न सबैलाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरे । साथै, गुणस्तरीय शिक्षा, पोषणयुक्त आहार, सुरक्षित खानेपानी, सरसफाइ, खोप तथा बालमैत्री स्वास्थ्य संस्थाको सुनिश्चितता आवश्यक रहेको बताए ।
राष्ट्रपतिले सुरक्षित वातावरण सृजना गरी सबै समुदायका बालबालिकालाई समान अवसर उपलब्ध गराउनेतर्फ दिवसले प्रेरणा दिने विश्वास व्यक्त गर्दै संरक्षण, विकास र सहभागिताका लागि सबै पक्षलाई सक्रिय बन्न आह्वान गरे ।