Banner Nepal
दशैँअघिको संकटः निषेधाज्ञा र कफ्र्युकै बीच सर्वसाधारण महँगीको मारमा

काठमाण्डौ । जेनजी आन्दोलनपछि जारी निषेधाज्ञा र कफ्र्युका कारण सर्वसाधारण उपभोक्ता दशैँको मुखमै दोहोरो संकटमा परेका छन् । काम र आम्दानी गुमाउनुका साथै दाल, गेडागुडी र खानेतेलजस्ता दैनिक उपभोग्य वस्तुको मूल्य चुलिँदा उनीहरू झनै मारमा परेका हुन् ।

कालीमाटीमा मजदुरी गर्दै घरखर्च चलाउँदै आएका विजय खतिवडाले निषेधाज्ञापछि आम्दानी बन्द भएसँगै परिवार पाल्न कठिनाइ भएको गुनासो गरे । “कमाइ छैन, तर सामान दिनदिनै महँगो हुँदैछ,” उनले भने । त्यस्तै, सडकछेउमा सानो व्यापार गर्दै परिवार धान्दै आएकी सरिताले व्यापार बन्द हुँदा छोराछोरीलाई भोकै राख्नुपर्ने अवस्था आएको बताइन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक साताभित्र मात्र खानेतेल प्रतिलिटर १० रुपैयाँ र दाल तथा गेडागुडी प्रतिकिलो ५–१० रुपैयाँसम्म बढेको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष नरेन्द्र खड्कीले कालोबजारीमा संलग्नहरूलाई सरकारले अनुगमनमार्फत कारबाही गर्नुपर्ने बताए । महासचिव अमुलकाजी तुलाधरले थोकमै मूल्य बढेकाले खुद्रा पसलेहरू बाध्यतावश महँगोमा बेच्नुपरेको स्पष्ट पारे । उनले उपभोक्तालाई आवश्यकभन्दा बढी सामान स्टक नगर्न पनि आग्रह गरे ।

यता नेपाल थोक व्यापार सङ्घले खाद्यवस्तुको तत्काल अभाव नभए पनि लामो समय ढुवानी अवरुद्ध भए मूल्य अझै बढ्न सक्ने चेतावनी दिएको छ । विशेषगरी खानेतेल र दालजस्ता वस्तुको कच्चा पदार्थ विदेशबाट आयात हुने भएकाले मूल्य पहिले नै बढेको दाबी गरिएको छ ।

यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले पछिल्लो परिस्थितिले नियमित अनुगमन प्रभावित भएको स्वीकार गरे । तर, बजारमा पर्याप्त मौज्दात रहेकाले खाद्यवस्तुको मूल्यवृद्धि नगर्न र नगराउन व्यापारीलाई आग्रह गरिएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update