
काठमाण्डौ । हालैको राजनीतिक आन्दोलनको अव्यवस्थित परिस्थितिको फाइदा उठाउँदै देशभरका विभिन्न कारागारबाट भागेका १३ हजारभन्दा बढी कैदीमध्ये अधिकांश अझै सम्पर्कविहीन रहेका छन्। यसले समाजमा गम्भीर असुरक्षा र त्रासको वातावरण सिर्जना गरेको छ।
कारागार व्यवस्था विभागका अनुसार झन्डै साढे दुई हजार कैदी मात्रै थुनुवा तथा बालबन्दी कारागारमार्फत सम्पर्कमा आएका छन्। तर गम्भीर अपराधमा संलग्न कैदीहरू अझै फरार रहँदा सार्वजनिक सुरक्षा चुनौती थपिएको हो।
विभागका महानिर्देशक लीला शर्माले दिएको जानकारीअनुसार काठमाण्डौको सन्धारास्थित केन्द्रीय कारागार तोडफोडपछि पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित करिब ११ हजार कैदी फरार भएका हुन्।
शर्माले हिजो दिउँसोसम्म करिब दुई हजार कैदी आफैँ सम्पर्कमा आएको बताए। उनले बाँकी सबै फरार कैदीलाई स्वेच्छाले कारागार फर्कन आग्रह गर्दै नफर्किनेहरुलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्ने चेतावनी दिएका छन्।