
काठमाण्डौ । जेन–जी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्ति क्षतिले बिमा क्षेत्रमा अभूतपूर्व दबाब सिर्जना गरेको देखिएको छ। सोमबार र मङ्गलबार राजधानीसहित विभिन्न सहरमा भएको क्षतिको कारण निजी, व्यावसायिक तथा सार्वजनिक सम्पत्तिमा अहिलेसम्मकै सबैभन्दा ठूलो बिमा दाबी आउने आँकलन गरिएको छ।
सरकारी तथा सार्वजनिक सम्पत्तिको बिमा नगरिएकोले राज्यलाई प्रत्यक्ष रूपमा ठूलो आर्थिक भार पर्ने भएको छ। सिंहदरबार, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, संसद् भवन, मन्त्री आवास, प्रहरी कार्यालयदेखि प्रदेश र स्थानीय तहका कार्यालयसम्मका संरचनामा क्षति भए पनि ती बिमा नगरिएकाले खर्चको सम्पूर्ण भार राज्यले व्यहोर्नुपर्ने भएको छ।
बिमा प्राधिकरणले दाबी परेको संरचनाको क्षतिपूर्तिको दाबी तत्काल फस्र्योट गर्न सबै बिमा कम्पनीलाई निर्देशन दिइसकेको छ। नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र बैदवारका अनुसार सबै कम्पनीलाई क्षतिको विवरण संकलन गरी एकीकृत प्रतिवेदन तयार गर्ने तयारी भइरहेको छ।
होटेल संघ नेपाल (हान) को प्रारम्भिक अध्ययनअनुसार मात्रै २५ वटा होटेल, रिसोर्ट, लज र रेस्टुरेन्टमा करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। अटोमोबाइल क्षेत्रमा पनि उल्लेख्य क्षति भएको प्राधिकरणले जनाएको छ।
२०७२ सालको भूकम्पका कारण दर्ता भएका १७ हजारभन्दा बढी दाबीमध्ये करिब १७ अर्ब ६५ करोड रुपैयाँ बराबरको दाबी फस्र्योट भएको थियो। बैदवारका अनुसार अहिले जेन–जी आन्दोलनबाट हुने बिमा दाबी त्यसभन्दा पनि बढी हुने अनुमान गरिएको छ।