Banner Nepal
गगन थापा : ‘कांग्रेसले जनतासँग माफी माग्नैपर्छ’

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ मा भएका घटनापछि पार्टीको जिम्मेवारी स्वीकार गर्दै जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।

भिडिओ सन्देशमार्फत थापाले पार्टी सरकारमै रहेका बेला अकल्पनीय घटना भएको भन्दै कांग्रेसले सिंगो देशसँग क्षमायाचना गर्नुपर्ने बताए । उनका अनुसार “हाम्रो अनुहारमा लागेको दाग केवल ऐना पुछेर हट्दैन, यसलाई हामी आफैंले धुनुपर्छ।”

उनले घटनामा पार्टी सभापतिदेखि सयौँ कार्यकर्ता र नेताका घर–सम्पत्ति तोडफोड र आगजनी भएको स्वीकार गर्दै, स्वाभाविक आक्रोशलाई बुझ्नुपर्ने बताए । तर नियतवश गरिएको क्षतिको जिम्मेवारलाई भने कानूनी कारबाहीमा ल्याउनुपर्ने उनको भनाइ छ ।

थापाले जेनजी आन्दोलनकारीको माग सम्बोधन गरेर मात्रै मुलुक अघि बढ्न सक्ने उल्लेख गर्दै अन्तरिम सरकार गठनका विषयमा कांग्रेस तयार रहेको पनि बताए । उनले आज साँझसम्म आन्दोलनकारीले छानेको व्यक्तिको नेतृत्वमा सरकार बन्ने सम्भावना औंल्याए ।

उनले नयाँ सरकार बनेपछि भदौ २३ र २४ का क्रूर घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने माग कांग्रेसको प्रमुख एजेन्डा हुने स्पष्ट पारे ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update