Banner Nepal
संसद विघटनमा सहमति अझै टुंगिएन

काठमाण्डौ । संसद विघटनको मागमा जेनजी समूह अडिग रहँदा कानूनी विकल्प खोज्न उच्चस्तरीय बैठक बस्ने तयारी भएको छ । यस बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीतर्फबाट प्रधानमन्त्रीका रूपमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सहभागी हुने बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री चयनमा सहमति बने पनि संसद विघटनको विषयमा अझै टुंगो लागेको छैन । काठमाडौंका मेयर बालेन्द्र साह र जेनजी समूहले संसद विघटनलाई मुख्य शर्त बनाएका छन्, तर राष्ट्रपति पौडेल सहमत नभएकाले अन्योल देखिएको छ ।

गत बिहीबार मध्यरातसम्म चलेको छलफलमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति भए पनि संवैधानिक आधारको विषयमा अनिश्चितता कायम छ । संसद विघटन नगरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानसम्मत नहुने र विघटन गर्न पनि ठोस कानूनी आधार नदेखिएकाले समस्या जटिल बनेको हो ।

राष्ट्रपति पौडेलले सभामुख, प्रधान सेनापति, संवैधानिक विज्ञ, जेनजी प्रतिनिधि र दलका नेताहरूसँग राय–विमर्श गरिसकेका छन् । दलहरूले कार्कीलाई प्रधानमन्त्री स्वीकार्ने तयारी देखाए पनि संसद विघटनमा भने सहमत देखिएका छैनन् । उनीहरूले संसदीय प्रक्रिया मार्फतै कार्कीलाई प्रधानमन्त्री बनाउने सुझाव दिएका छन् ।

जेनजी समूहले कानूनी पक्ष बलियो बनाउन अधिवक्ता ओमप्रकाश अर्याललाई अघि सारेको छ । संसद विघटनको टुंगो भएपछि मात्र सबै पक्षबीच औपचारिक सहमति हुने बताइएको छ ।

यसैबीच, सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् गैरदलीय हुने पक्का भएको छ । दलहरूले आफ्ना प्रतिनिधि नपठाउने तर मन्त्री छनोटमा परामर्श दिने व्यवस्था हुने बताइएको छ । साथै, मन्त्री पदमा विवादास्पद वा सामाजिक–नैतिक रूपमा प्रश्न उठ्ने व्यक्तिहरूलाई नसमेट्न सचेत गराइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update