
काठमाण्डौ– समाजवादी प्रेस संगठनले गत भर्दौ २३ गते जेन–जीको शान्तिपूर्ण प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको दमनमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। संगठनले समाचार संकलनका क्रममा घाइते भएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना समेत व्यक्त गरेको छ।
संगठनले आन्दोलनका क्रममा सञ्चारगृह, प्रेस सम्बद्ध कार्यालय, पत्रकारको घरमा भएको आगजनी, तोडफोड तथा पत्रकारमाथि भएको आक्रमणप्रति घोर आपत्ति प्रकट गर्दै यसलाई कडा शब्दमा निन्दा गरेको छ। संगठनका महाचिव रोहत दाहालले विज्ञप्ती जारी गरी सार्वजनिक तथा निजी सम्पत्ति र व्यक्तिमाथि भएको लुटपाट र आक्रमणको उच्चस्तरीय न्यायिक छानविन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
वर्तमान राजनीतिक संकटको समाधान संविधान र लोकतान्त्रिक प्रक्रियाभित्रै खोज्नुपर्ने जोड दिँदै, कुनै पनि बहानामा नागरिक सर्वोच्चता खोस्ने र प्रतिगमनतर्फ अग्रसर हुने गतिविधिलाई अस्वीकार्य ठहर गरेको छ। जेन–जी समूहका मुद्दा र माग लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियामार्फत मात्र समाधान हुनुपर्ने संगठनको धारणा छ।
अन्त्यमा, समाजवादी प्रेस संगठनले पूर्ण प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समानुपातिक समावेशीताको संवैधानिक रक्षा गर्न आमजनता, सञ्चारकर्मी र पेशागत संघ–संस्थालाई एकजुट भएर उभिन हार्दिक अपिल गरेको छ।