
काठमाण्डौ । देशको राजधानीका विभिन्न कारागारबाट भागेका कैदीबन्दीमध्ये ३५ जनालाई आज बिहान धादिङको गजुरीमा नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
हालैको आन्दोलनको अवसर छोपेर कारागारबाट फरार भएका ती कैदीहरू गजुरी चेक प्वाइन्ट नजिकै पक्राउ परेका हुन् । यसअघि बुधबार धादिङकै गल्छीस्थित बैरेनीबाट तीन जना पक्राउ परेका थिए ।
गजुरीस्थित भैरबनाथ गणका कर्णेल अशिम श्रेष्ठका अनुसार आज पक्राउ परेकामध्ये केन्द्रीय कारागारका २१ जना, नक्खु कारागारका नौ, भीमफेदी कारागारका चार र भद्र केन्द्रीय कारागारका एक जना रहेका छन् ।
पृथ्वीराजमार्गका विभिन्न स्थानमा सेनाले बुधबारदेखि विशेष निगरानी सुरु गरेको छ । यस क्रममा पैदल यात्रु देखि सवारीसाधन प्रयोगकर्तासम्मलाई सोधीखोजी गरी पहिचान भइरहेको बताइएको छ । केहीलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिइएको पनि सेनाले जनाएको छ ।
बुधबार नियन्त्रणमा लिइएका तीन जनालाई बैरेनी प्रहरीको जिम्मा लगाइए पनि आज नियन्त्रणमा परेका ३५ जनालाई भने सेनाले गजुरीस्थित भैरबनाथ गणमै राखेको छ । उनीहरूको व्यवस्थापनका लागि नेपाल प्रहरीसँग सहकार्य भइरहेको कर्णेल श्रेष्ठले जानकारी दिए ।
नेपाली सेनाले परिस्थितिजन्य कारणले फरार भएका कैदीहरूलाई स्वेच्छाले आत्मसमर्पण गर्न आग्रह समेत गरेको छ ।