Banner Nepal
प्रदर्शनका क्रममा तोडफोड–आगजनी : सरकारी सेवा ठप्प

काठमाण्डौ । जेनजी समूहले सप्तरी जिल्लामा मंगलबार विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेपछि दुई दर्जनभन्दा बढी कार्यालय सञ्चालनमा ठप्प भएका छन् ।

राजविराज नगरपालिका, वडा नं २ को कार्यालय, सघन सहरी डिभिजन, डिभिजन वन, भौतिक पूर्वाधार, जिल्ला हुलाक, आन्तरिक राजस्व, सरकारी वकिल, उच्च अदालत जनकपुर राजविराज इजलास, सप्तरी जिल्ला अदालत, जिल्ला निर्वाचन कार्यालय, जिल्ला समन्वय समिति, राजगढ गाउँपालिका, खड्क नगरपालिका, कञ्चनरूप नगरपालिका, महदेवा गाउँपालिका–४ लगायतका कार्यालयमा व्यापक क्षति पुगेको स्थानीयले बताएका छन् ।

आगजनीका कारण कागजात, फाइल, कम्प्युटर, प्रिन्टर, सवारीसाधनदेखि कार्यालयका टेबल–कुर्सी जलेर नष्ट भएका छन् । जिल्ला अदालतका एक कर्मचारीका अनुसार कार्यलय सञ्चालनका लागि आवश्यक न त भवन सुरक्षित छ, न त उपकरण नै बाँकी छन् । तत्काल सेवा सुचारु हुने अवस्था नरहेको उनको भनाइ छ ।

यस्तै, राजविराज नगरपालिका कार्यालयका दुईवटा टिपर र दुईवटा ट्याक्टर जलेपछि नगरको फोहोर व्यवस्थापन ठप्प भएको छ । सबै डकुमेन्ट नष्ट भएकाले कार्य सञ्चालन कसरी थाल्ने भन्ने अन्योल सिर्जना भएको नगरपालिकाले जनाएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले स्रोत साधन अभावका कारण कार्यालय सञ्चालनमा कठिनाइ हुने स्वीकार गर्दै जिल्लामा कर्फ्यू जारी भएकाले अवस्था भने नियन्त्रणमा रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update