
काठमाण्डौ । सोमबार र मङ्गलबार भएको जेनजी आन्दोलनका क्रममा २५ जनाले ज्यान गुमाएका छन् भने सुरक्षाकर्मी र प्रदर्शनकारी गरी सात सयभन्दा बढी घाइते भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बुधबार बिहानसम्मको विवरणअनुसार २५ जनाको मृत्यु भएको पुष्टि भएको हो। मृतकमध्ये सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, सिभिल अस्पतालमा छ जना, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा तीन–तीन जना, काठमाडौँ मेडिकल कलेज सिनांमगल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई–दुई जना तथा त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हालसम्म ७१३ जना घाइतेमध्ये ४१३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने १९७ जना विभिन्न अस्पतालमा उपचाररत छन्।
सिभिल अस्पतालमा उपचाररत २४९ घाइतेमध्ये १५ जनाको शल्यक्रिया सम्पन्न भएको छ भने अन्य नौ जनाको शल्यक्रिया गर्ने तयारी भइरहेको छ। त्यस्तै, ट्रमा सेन्टरमा भर्ना भएका ७१ मध्ये ११ जनाको शल्यक्रिया गरिएको छ।