
काठमाण्डौ । नेपाली सेना र अन्य सुरक्षा निकाय देशभर परिचालनमा रहेपछि थप सुरक्षात्मक कारबाही तीव्र पारेका छन् । सेनाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म राजधानीसहित विभिन्न स्थानमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिएको छ ।
महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् । त्यस्तै, डिल्लीबजार–नारायणथान क्षेत्रमा संलग्न केही शंकास्पद व्यक्ति सुरक्षाकर्मी देखेपछि भागेका थिए । सो क्रममा नेपाली रुपियाँ दुई लाख ३२ हजार ५०० र अमेरिकी डलर २,५०० नगद बरामद गरिएको सेनाले जनाएको छ ।
यसैबीच, सुरक्षाकर्मीले लुटिएका थप एक नाल हतियार फिर्ता गरेको छ, जससँगै हालसम्म बरामद हतियारको संख्या ३२ पुगेको छ ।
सुरक्षाकर्मीले डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका कैदीमध्ये २६ जनालाई पुनः नियन्त्रणमा ल्याएको छ । यस्तै, काठमाडौँको डिल्लीबजार सदर कारागारबाट भाग्ने प्रयास गर्ने कैदीहरूलाई समेत नियन्त्रणमा लिएको छ ।
नेपाली सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै देशभर शान्ति–सुरक्षा कायम राख्ने कार्यलाई निरन्तरता दिएको र नागरिकलाई सहयोग र सतर्क रहन आग्रह गरेको छ ।