Banner Nepal
सिंहदरबारका दर्जनौं मन्त्रालय ध्वस्त, प्रधानमन्त्री कार्यालयमा अझै आगो

काठमाण्डौ । प्रदर्शनकारीहरूले सुरु गरेको आगजनीका कारण सिंहदरबारभित्र रहेका दर्जनौं मन्त्रालयमा ठूलो क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार केही सीमित निकाय बाहेक प्रायः सबै मन्त्रालय तथा कार्यालयमा आगोको प्रभाव परेको छ ।

सुरक्षाकर्मीका अनुसार सिंहदरबारको मुख्य भवनस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अहिले पनि आगोमा ध्वस्त हुँदै गएको छ । आगो नियन्त्रणमा लिन दमकलको फोहोरा लगातार प्रयोग भइरहेको भए पनि निभ्न सकेको छैन ।

गृह, ऊर्जा, शिक्षा, परराष्ट्रलगायतका मन्त्रालयमा समेत आगलागी भएको पुष्टि भएको छ । सिंहदरबार परिसरमा रहेका सरकारी सवारीसाधन र संघीय संसद सचिवालयअन्तर्गतका गाडीहरू पनि पूर्णरूपमा जलेका छन् । विभिन्न दलका संसदीय दल कार्यालयहरूमा समेत क्षति पुगेको छ भने एक मन्त्रीको गाडी समेत जलेको छ ।

प्रदर्शनकारीहरूले नेपाल टेलिभिजनमा प्रवेश गरी तोडफोड गरे पनि कर्मचारीहरूको आग्रहपछि आगजनी नगरेको बताइन्छ । तर राष्ट्रिय सुरक्षा परिषद् सचिवालय र रेडियो नेपाललाई उनीहरूले बारम्बार लक्षित गर्ने प्रयास गरेका थिए । रेडियो नेपालमा त केही कर्मचारीले सम्झाएपछि मात्र उनीहरू फर्किएका थिए । त्यही क्रममा केही सुरक्षाकर्मीहरू त्यहाँ आश्रय लिँदै सर्वसाधारणको लुगा फेरेर भागेकोसमेत खुलेको छ ।

अहिले सिंहदरबार वरपर नेपाली सेनाको गस्ती सुरु गरिएको छ । सर्वसाधारण र कर्मचारीको प्रवेश पूर्ण रूपमा निषेध गरिएको छ । मुख्य भवनलगायतका केही मन्त्रालयमा अझै आगो दन्किरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update