
काठमाण्डौ । जनमत पार्टीले भ्रष्टाचार विरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवामाथि राज्यद्वारा भएको दमनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कडा निन्दा गरेको छ।
कोशी प्रदेश कमिटीका अध्यक्ष बुद्धिराज न्यौपानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, सोमबारको घटनामा प्रहरीले १९ जना युवामाथि गोली प्रहार गरेको थियो। यसले लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामा ठाडो आघात पुगेको पार्टीको ठहर छ।
पार्टीले यस घटनालाई “अमानवीय र क्रूर दमन” को संज्ञा दिँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। विज्ञप्तिमा सत्य–तथ्य पत्ता लगाउन स्वतन्त्र र निष्पक्ष समिति गठन गर्नुपर्ने पनि उल्लेख गरिएको छ।
जनमत पार्टीका अनुसार सरकारको गैरजिम्मेवार रवैयाले देशको लोकतान्त्रिक छविलाई धमिलो बनाएको छ र घटनाप्रति तत्काल कारबाही आवश्यक छ।