
काठमाण्डौ । सोमबार काठमाडौंका विभिन्न स्थानमा भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर चार जनाको मुटु नै प्वाल परेको पाइएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजिव झाका अनुसार ती चार जनाको अस्पताल आइपुग्नुअघि नै मृत्यु भइसकेको थियो।
डा. झाका अनुसार अन्य आठ जनाको टाउको र शरीरका विभिन्न भागमा गोली प्रहारबाट गम्भीर चोट लागेको छ। केही घाइतेको अवस्थामा रबरको गोली छालामुनि अड्किएको पाइए पनि, स्वास्थ्य जोखिमका कारण अहिले तत्काल निकालिनु सम्भव नभएको चिकित्सकले जानकारी दिएका छन्।
ट्रमा सेन्टरमा रातभरि शल्यक्रिया गरिएको छ। अस्पताल प्रमुख डा. बद्री रिजालका अनुसार पाँच ओटी कक्षमा ८ जनाको मेजर सर्जरी र १५ जनाभन्दा बढीको माइनर सर्जरी गरिएको थियो।
हाल ७० भन्दा बढी घाइतेहरूको उपचार राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको छ। वीर अस्पतालमा गम्भीर घाइतेका लागि ९ वटा ICU बेड तयारी अवस्थामा राखिएको छ भने आवश्यक परे थप बेड व्यवस्थापन गर्ने तयारी गरिएको छ।
ट्रमा सेन्टरमा उपचाररत अधिकांश घाइते स्कुल–कलेजका विद्यार्थी हुन्। उनीहरू स्कुलको ड्रेसमा थिए र झोला बोकेर आएको भेटिएको छ।