Banner Nepal
जेनजी प्रदर्शनपछि काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यु आदेश जारी

काठमाण्डौ, भदौ २४ । काठमाडौं उपत्यकामा जेनजी पुस्ताको आन्दोलन नरोकिएपछि तीनवटै जिल्लामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेका छन्। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लामा फरक–फरक समय र क्षेत्र निर्धारण गरी कर्फ्यु लागू गरेका हुन्।

काठमाडौंमा कर्फ्यु
काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हस्ताक्षर गरेको आदेशअनुसार मंगलबार बिहान ५ः३० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू हुने जनाइएको छ। भद्रकाली–पुल्चोक–कोटेश्वर–सिनामंगल–गौशाला–चाबहिल–नारायणगोपाल चोक–गोंगबु–बालाजु–स्वयम्भू–कलंकी–त्रिपुरेश्वर हुँदै पुरानो बसपार्कसम्मको चक्रपथभित्र सम्पूर्ण क्षेत्रलाई कर्फ्यु क्षेत्र तोकिएको छ।

अत्यावश्यक सेवामा संलग्न एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कूटनीतिक निकायका सवारीसाधन तथा हवाई टिकट भएका यात्रुहरूलाई भने यातायात सुविधा दिने व्यवस्था गरिएको छ।

ललितपुरमा कर्फ्यु
ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मंगलबार बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि आंशिक कर्फ्यु आदेश जारी गरेका छन्। आदेशअनुसार भैँसेपाटी, सानेपा र च्यासल क्षेत्रलाई चारकिल्ला तोकी आवतजावत, सभा, जुलुस, भेला तथा प्रदर्शन निषेध गरिएको छ।

भक्तपुरमा कर्फ्यु
भक्तपुरका प्रमुख जिल्ला अधिकारी जसपाल कुमार देवकोटाले मंगलबार बिहान ५ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि विशेष कर्फ्यु लागू भएको जनाएका छन्। मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण र भक्तपुर नगरपालिकाभित्रका विभिन्न क्षेत्रलाई कर्फ्यु क्षेत्र तोकिएको छ। पेप्सीकोला मनोहरा पुलदेखि निकोसरा चोक, नगरकोट जाने बाटो हुँदै विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

तीनवटै जिल्ला प्रशासनले भिडभाड, धर्ना, जुलुस, सभा, नाराबाजी, तोडफोड, आतिशबाजी लगायतका गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update