काठमाण्डौ । जनमत पार्टी नेपालले काठमाडौं र सनसरीमा भएको गोलीकाण्डप्रति गम्भीर आपत्ति प्रकट गरेको छ। शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जेन–जीसहितका युवामाथि प्रहरीले गरेको गोली प्रहारबाट १९ जनाको ज्यान गएको घटनाप्रति पार्टीले गहिरो चिन्ता व्यक्त गर्दै यसलाई अमानवीय दमन भनेको छ।
पार्टीले जारी गरेको विज्ञप्तिअनुसार उक्त घटनामा काठमाडौंमा १७ र सनसरीमा २ जनाको मृत्यु भएको छ भने ४२२ जना घाइते भएका छन्। घाइतेमध्ये धेरैको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
जनमत पार्टीले घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक स्वतन्त्रतामाथि ठाडो आघात पुर्याएको आरोप लगाउँदै सरकारको गैरजिम्मेवार रवैया उदाङ्गो भएको बताएको छ।
पार्टीका मागहरू:
-
सत्यतथ्य छानबिन गर्न स्वतन्त्र र निष्पक्ष समिति गठन गर्नुपर्ने,
-
मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने,
-
घटनाको नैतिक जिम्मेवारी स्वीकार्दै सम्बन्धित पदाधिकारीले तत्काल राजीनामा दिनुपर्ने।
जनमत पार्टी कोशी प्रदेश कमिटीका अध्यक्ष बुद्धिराज न्यौपानेले विज्ञप्तिमार्फत सम्पूर्ण देशवासीलाई लोकतन्त्र, सुशासन र नागरिक अधिकारको संरक्षणका लागि एकजुट हुन आह्वान गरेका छन्। साथै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।



