Banner Nepal
काठमाडौंमा जेन जी प्रदर्शन लक्षित सुरक्षा कडाइ, ट्राफिक प्रभावित हुने सम्भावना

काठमाण्डौ । आज बिहान ९ बजेबाट सुरु हुने जेन जी प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले काठमाडौं उपत्यकाका मुख्य क्षेत्रमा सुरक्षा तैनाथी कडा पारेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार हालसम्म बल प्रयोग गर्नुपर्ने अवस्था नदेखिएको भए पनि प्रदर्शन अराजक भए वा निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास भए पूर्वचेतावनीपछि मात्रै बल प्रयोग गरिने तयारी गरिएको छ ।

‘जसरी सहभागीहरू आउनुहुन्छ, हामी पनि त्यसरी नै प्रस्तुत हुन्छौँ,’ प्रवक्ता बोहराले भन्दै सुरक्षाकर्मीलाई विभिन्न स्थानमा तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

प्रदर्शनका कारण विशेषगरी नयाँ बानेश्वरदेखि माइतीघरसम्मको सडक प्रभावित हुने अनुमान गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार बिहान १० बजेसम्म हुने भेला र सहभागीको सङ्ख्याको आधारमा बाटो डाइभर्सन गर्ने वा नगर्ने निर्णय लिइने छ । ‘शान्तिपूर्ण प्रदर्शन भएकाले सार्वजनिक सडक पूर्ण रूपमा अवरुद्ध नहुने अपेक्षा छ,’ अधिकारीले भने ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update