Banner Nepal
भिपिएनमार्फत सूचीकरणनभएका सामाजिक सञ्जाल प्रयोग नगर्न सरकारको आग्रह

काठमाण्डौ । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय पारिएका कारण ती सञ्जाल भर्जुअल प्राइभेट नेटवर्क (भिपिएन) मार्फत नचलाउन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले आइतबार विज्ञप्ति जारी गर्दै भिपिएनमार्फत सामाजिक सञ्जाल प्रयोग गर्दा असुरक्षित, अनधिकृत र जोखिमयुक्त हुने भएकाले सचेत रहन सर्वसाधारणलाई आग्रह गर्नुभएको हो ।

नेपालमा ठूलो संख्यामा प्रयोग भइरहेका सामाजिक सञ्जाल सूचीकरण नभएकाले सरकारले पाँचौँ पटक सबैलाई सूचीकरणमा आउन आह्वान गरेको छ । सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने ‘सामाजिक सञ्जाल प्रयोग निर्देशिका–२०८०’ बमोजिम सम्पर्क बिन्दु, गुनासो सुन्ने अधिकारी र स्वनियमन निगरानी गर्ने अधिकारी तोकेर सूचीकरण हुनुपर्ने प्रवक्ता ठाकुरले जानकारी दिनुभयो ।

सरकारले सामाजिक सञ्जाल निषेध वा नियन्त्रण गर्ने नभई जिम्मेवार प्रयोग सुनिश्चित गर्ने उद्देश्य राखेको स्पष्ट पारेको छ । मन्त्रालयले स्वनियमनमार्फत सामाजिक सञ्जाललाई मर्यादित, व्यवस्थित र जवाफदेही बनाउन आमसर्वसाधारणको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहकार्यका लागि अपिल गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update